Saturday, March 7, 2015

पाइलट पढ्न चाहने हरुका लागी


मेडिसिन र उडान क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीका लागि फिलिपिन्स राम्रो गन्तव्य बन्दै गइरहेको छ। तुलनात्मक रुपमा फिलिपिन्समा नेपाली विद्यार्थी सर्वसुलभ शुल्कमा विश्वस्तरीय विश्वविद्यालयबाट योग्यता हासिल हुने भएकाले फिलिपिन्स आकर्षण बन्दै गएको आइन्सटाइन इन्टरनेसनलका प्रबन्ध निर्देशक सुशील रेग्मी बताउँछन्।
      कुनै समय फिलिपिन्स युरोपेली र अमेरिकी उपनिवेश थियो। राष्ट्रिय भाषा तगालोक र क्षेत्रीय स्तरमा विभिन्न भाषा भए पनि यहाँको शैक्षिक प्रणाली अंग्रेजी भाषामा चल्छ।
आइन्सटाइन इन्टरनेसनलका प्रबन्ध निर्देशक रेग्मीका अनुसार फिलिपिन्समा ९५ प्रतिशतले अंग्रेजी बुझ्ने भएकाले शैक्षिक भाषाको माध्यम अंग्रेजी बनाइएको हो। विशेषगरी मेडिसिन फिल्डका विद्यार्थी फिलिपिन्समा उच्च शिक्षा हासिल गर्न जाने भएकाले विद्यार्थीले प्लस टु विज्ञानमा पास गरी भौतिकशास्त्र, रसायनशास्त्र र जीवविज्ञानमा ५० प्रतिशतमाथि अंक ल्याएको हुनुपर्छ।

फिलिपिन्समा मेडिकल पढ्न जाँदा सुरुमा डेढ वर्षको ब्याचलर इन बायोलोजी गर्नुपर्छ। त्यसपछि विद्यार्थीले नेसनल मेडिकल एडमिसन ट्रस्ट (एनएमएटी) पास गर्नुपर्छ। यसमा विद्यार्थीले ४० प्रतिशत अंक अनिवार्य ल्याउनुपर्छ। त्यसपछि ४ वर्षे एमडी कोर्स सुरु हुन्छ। विद्यार्थीले यसअन्तर्गत २ वर्ष ह्युमन साइन्स र २ वर्ष क्लर्कसिपको पढाइ गर्नुपर्छ। त्यसपछि एक वर्ष अस्पतालमा इन्टर्नसिप।

'फिलिपिन्समा मेडिकलका विद्यार्थीले साढे ६ वर्षमा बिएसएमडी पूरा गर्छन्,' रेग्मीले नागरिकसँग भने, 'विश्वस्तरीय विश्वविद्यालयबाट गुणस्तरीय डाक्टर फिलिपिन्समा उत्पादन हुने भएकाले त्यहाँ डाक्टरी पढेकाहरु विश्वबजारमा विक्छन्।' उनका अनुसार मेडिकल पूरा गर्न विद्यार्थीले ३० देखि ४५ लाख नेपाली रुपैयाँ खर्च गरे पुग्छ। फिलिपिन्समा प्रतिभा पलायन होइन कि पढेर स्वदेशमै फर्केर काम गर्ने किसिमको शिक्षा प्रणालीले विद्यार्थीलाई राष्ट्रियता सिकाउँछ।

शिक्षा मन्त्रालयका अनुसार नेपालबाट विदेशमा उच्चशिक्षा हासिल गर्न जाने देशमा फिलिपिन्स दसौं गन्तव्य देशमा पर्छ। विशेष गरी स्वास्थ्य विज्ञान, पाइलट, आइटी अध्ययनका लागि फिलिपिन्स विद्यार्थीको रोजाइ बन्दै गएको मन्त्रालयका उपसचिव नन्दलाल पौडेलले जनाए।

वैदेशिक अध्ययन अनुमतिपत्र व्यवस्थापन शाखाका प्रमुख पौडेलले फिलिपिन्समा डाक्टरी पढ्न जानेको संख्या बढेको बताए। मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गत पुस मसान्तसम्म कुल ६५ देशका लागि १५ हजार ८६ विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका छन्। जसमध्ये फिलिपिन्सका लागि १ सय २९ ले लेटर लिएका छन्।

सुलभ शुल्क र सुरक्षित वातावरणमा उच्च शिक्षा हासिल गर्ने भएकाले विद्यार्थीको रोजाइ फिलिपिन्स बन्दै गएको उनको भनाइ छ। प्राविधिक र व्यावसायिक शिक्षाको उत्तम थलो फिलिपिन्स भएकाले विद्यार्थीले त्यहाँबाट डिग्री हासिल गरेपछि विश्वमै अवसर पाउने पौडेलले जनाए। 'अन्य देशका लागि नो अब्जेक्सन लेटर लिनेहरु सबै पढ्न जाँदैनन् तर फिलिपिन्स भने जाने निश्चित भएकाहरुले मात्र लेटर लिन्छन्,' उपसचिव पौडेलले नागरिकसँग भने, 'लेटर लिनेमध्ये ९० प्रतिशत डक्टरीका छन्।'

फिलिपिन्सको शैक्षिक संस्थाका पाठ्यक्रम स्वीकृत गर्ने सरकारी शैक्षिक निकाय चेडका अनुसार फिलिपिन्समा विश्वविद्यालय, कलेज तथा तालिम इन्स्टिच्युट गरेर २ हजार २ सय ९९ संस्था छन्। ६ सय ५६ फिलिपिन्स सरकारबाटै सञ्चालित विश्वविद्यालय तथा कलेज छन्। ५ सय ४७ स्टेट विश्वविद्यालय तथा कलेज छन्। यसैगरी ९५ वटा स्थानीय विश्वविद्यालय तथा कलेज छन् भने १ हजार ६ सय ४३ निजी स्तरबाट सञ्चालित कलेज तथा विश्वविद्यालय छन्। १४ वटा प्राविधिक शिक्षालय छन्।

विद्यार्थीका लागि फिलिपिन्स उत्तम देश बन्दै गएको नयाँ बानेश्वरमा रहेको नर्थ फेस इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रविन्द्र दहालले बताए। उनका अनुसार फिलिपिन्सको भिसा प्रक्रिया निकै सहज भएकाले पनि विद्यार्थीका लागि उच्च शिक्षाको गन्तव्य बन्दै गएको हो।

एसियाकै सबैभन्द बढी आइएसओ प्रमाणित विश्वविद्यालय फिलिपिन्समा छन्। सरल किस्ताबन्दीमा सेमेस्टर अनुसार शुल्क बुझाउने प्रावधानले विद्यार्थीलाई आर्थिक भार पर्दैन। ९६ प्रतिशत साक्षरता भएको फिलिपिन्समा विश्वका ३० देशबाट बर्सेनि १० हजार विद्यार्थी उच्च शिक्षा हासिल गर्न जान्छन्।

पाइलट ट्रेनिङका लागि फिलिपिन्स विश्वमै राम्रो मनिएकाले समेत विद्यार्थी एकवर्षे कोर्सका लागि जाने गरेको उनी बताउँछन्। पाइलट ट्रेनिङका लागि विज्ञानमा भौतिक शास्त्र र गणित विषय लिएर प्लस टु पास गरेको हुनुपर्छ। पाइलट पढ्न चाहने नेपाली विद्यार्थीले १८ वर्ष उमेर पूरा गरेको र नागरिक उड्डयन प्राधिकरणबाट रिकमेन्डेसन लेटर लिएको हुनुपर्छ। ४०–४५ लाख नेपाली रुपैयाँमा पूरा हुने यो तालिम तुलानात्मक रुपमा अन्य देशभन्दा सस्तो रहेको दाहालले जनाए।

'नेपालमा नयाँ प्लेन तथा एयरलाइन्स थपिँदै गइरहेको अवस्थामा फिलिपिन्सका पाइलट इन्स्टिच्युटबाट तालिमप्राप्त पाइलटले कामको अवसर पाउँछन्,' दाहालले भने, 'पाइलटको ट्रेनिङ सकेर नेपाल आएका विद्यार्थीले नागरिक उड्डयन प्राधिकरणको कन्भर्जर परीक्षा पास गरेपछि मात्र प्लेन उडाउन पाउँछन्।'

चुनौती
फिलिपिन्स जाने विद्यार्थीले सुरुमै छात्रवृत्ति पाउँदैनन्। छात्रवृत्तिका लागि कम्तीमा १ वर्ष पढेपछि मेरिट लिस्टमा नाम निकाल्नुपर्ने हुन्छ। विद्यार्थीलाई आर्थिक चुनौती सामना गर्नुपर्ने भएकाले यसबारे पहिल्यै तयारीसाथ जानुपर्ने निर्देशक दाहालले बताए। साथै, पिआरको व्यवस्था नभएकाले पढाइ सकिनासाथ देश फर्कनुपर्ने भएकाले विद्यार्थीले त्यसको तयारी गर्नुपर्ने हुन्छ।

नठगियूँ
विद्यार्थीले फिलिपिन्सका आधिकारिक विश्वविद्यालयको प्रतिनिधिबाटै परामर्श लिएर जाँदा ठगीबाट जोगिइन्छ। विद्यार्थीले आफू अध्ययन गर्ने विषय, विश्वविद्यालय, शुल्क र पाठ्यक्रम र वातावरणबारे आफैं पनि वेबसाइटबाट बझ्नुपर्ने सुझाउँछन् उनी। फिलिपिन्सको आधिकारिक कन्सुलर तीनकुनेमा छ। विद्यार्थीले त्यहाँ गएर सही सूचना लिन सक्छन्।

डाक्टरी अध्ययन गर्न चाहने विद्यार्थीले नेपाल मेडिकल काउन्सिलबाट मान्यताप्राप्त विश्वविद्यालय वा कलेजमा मात्र भर्ना गराउन मिल्ने भएकाले यसबारे विद्यार्थी पहिल्यै सचेत हुनुपर्छ। पाइलट तालिमका लागि अध्ययन गर्न चाहने विद्यार्थीले सम्बन्धित फ्लाइङ स्कुल नेपालको नागरिक उड्डयन प्राधिकरणको मान्यता भए नभएको पहिल्यै बुझनुपर्छ। यसैगरी विद्यार्थी फिलिपिन्स जानुअघि मेडिकल काउन्सिलबाट एलिजिबिलिटी प्रमाणपत्र लिनुपर्छ। पाइलट अध्ययन गर्न फिलिपिन्स जाने विद्यार्थीले जानुअघि नागरिक उड्डयन प्राधिकरणको रेकमेन्डेसन लेटर लिएर मात्र नो अब्जेक्सन लेटर लिनुपर्छ। 'फिलिपिन्समा मान्यताप्राप्त र सुरक्षित वातावरणमा विद्यार्थीलाई अध्ययन गराउन यो व्यवस्था गरिएको हो,' निर्देशक दाहालले भने, 'यसले विद्यार्थीको शैक्षिक लगानी सुरक्षित हुन्छ।'

No comments:

Post a Comment